Tuesday 23 March 2021

को थिइन् कमला ?

लम्की दुर्घटनाः कमला देवकोटा डेढ वर्षीय छोरालाई लिएर बिहानै होटेल खोल्न जाँदै थिइन् कैलालीकी कमला देवकोटाले सडक दुर्घटनामा परी ज्यान गुमाइन्। उनी लम्की बजारस्थित विहान आफ्नो होटेल गइरहेका बेला दुर्घटनामा परेकी थिइन्। उनको पारिवारिक स्रोतका अनुसार कमला आज उनका श्रीमानको बाहिर जाने काम परेपछि होटेल खोल्न भन्दै गइरहेकी थिइन्। के भन्छन् प्रत्यक्षदर्शी ?
प्रत्यक्षदर्शी एक महिला भन्छिन् –“आज उनी डेढ वर्षीय छोरालाई लिएर होटेल गइरहेकी थिइन् । रोड क्रस गरिरहेकी उनलाई गाडीले ठक्कर दियो। उनी लडिन्। उनको साथमा भएका छोरा हुत्तिएर केही पर लडे। हामीले छोरालाई समातेर ल्यायौँ। गाडीको ठक्करबाट लडेकी कमलामाथि गाडी ब्याक गरेर उनको छातिमाथि गाडी चढाएर किचियो। छोरालाई चोट त लागेको छ तर उनी बाँच्न सफल भए।”उनले उपचारपछि कमलाका छोरालाई घर ल्याइएको “कहिलेकाँही मात्र होटेल जाने गरेकी कमलाको दिन आज अन्तिम होला भन्ने कसले सोचेको थियो र उनका स–साना बच्चाको अवस्था अब के हुन्छ ?” उनले भावुक हुँदै भनिन्। घटनाको अनुसन्धान गरिरहेको प्रहरीले भने कमलाको मृत्यु ठ्याक्कै कसरी हुन गयो भनेर अनुसन्धान भइरहेको बताएको छ। बस ब्याक गरेर कमलालाई फेरि किचेको भन्ने आरोप प्रहरीबाट पुष्टि हुन बाँकी नै छ। को थिइन् कमला ?
कैलालीको लम्कीचुहा नगरपालिका–१ थकाइलीपुरकी कमलाको विवाह १६ वर्षको उमेरमा भएको थियो। कक्षा ११ मा पढ्दै गर्दा उनको गाउँ नजिकैका टंक बुढा (उनका श्रीमान)संग प्रेम बसेपछि उनले भागी विवाह गरेकी थिइन्। उनका छिमेकीका अनुसार उनी शान्त स्वभावकी, थोरै तर मीठो बोल्ने, मिलनसार थिइन्। सामान्य परिवारकी उनले घरव्यवहार सम्हाल्दै आएकी थिइन् भने उनका श्रीमान सानो नास्ता पसल चलाउँदै आएका छन्। उनका सासूससुरा भारतमा छन्। उनी श्रीमान, देवर र दुई सन्तानको साथमा बस्दै आएकी थिइन्। उनकी ४ वर्षीया छोरी र डेढ वर्षका छोरा छन्। छोरी देवांशी बुढा अहिले नर्सरीमा घटनाबारे के भन्छ प्रहरी ?
प्रत्यक्षदर्शीले गाडी ब्याक आएर किचेको बताए पनि प्रहरीले भने त्यसबारे थाहा नभएको बताएको छ।घटनाको अनुसन्धानको क्रममा रहेकाले अनुसन्धानपछि मात्रै सबै कुरा थाहा हुन आउने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए। ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका—१ का ३१ वर्षीय पुष्प कडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको लम्कीचुहा नगरपालिकाको लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको ना६ख ८८३३ नम्बरको बसले कमलालाई ठक्कर दिएको थियो। सोही विषयलाई लिएर आन्दोलित भएका स्थानीयले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रर्दशन गरेका छन्। अवस्था तनावग्रस्त भएपछि भिडलाई तितरबितर पार्नका लागि प्रहरीले हवाईफाइरसमेत गरेको थियो। प्रहरीको गोली लागेर दुईजना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको खुट्टार एक जनाको पेटमा गोली लागेको छ। गम्भीर घाइते कृष्ण प्याकुरेललाई थप उपचारका लागि काठमाडौँ लगिएको छ भने अर्का घाइते दीपक सन्ज्यालको नेपालगञ्जमा उपचार भइरहेको छ।